नेपालद्धारा एक वर्षमै साढे १७ अर्बको बिजुली भारत र बंगलादेशसंग बिक्री – Nepalboli

नेपालद्धारा एक वर्षमै साढे १७ अर्बको बिजुली भारत र बंगलादेशसंग बिक्री

   २०८२ श्रावण २२, बिहीबार  

नेपालले एक वर्षमै साढे १७ अर्बको बिजुली भारत र बंगलादेशतर्फ बिक्री गरेको छ। गत आर्थिक वर्ष २०८१-०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रूपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो। नेपाल विद्युत् प्राधिकरणले एक वर्षको अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रूपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रूपैयाँबराबरको विद्युत् बिक्री गरेको हो। निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रूपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोसेढुंगा साबित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले बताए। यो आर्थिक प्रगति निर्यातको परिमाणले मात्र नभइ व्यापार सन्तुलनका हिसाबले पनि महत्वपूर्ण छ।

गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रूपैयाँबराबरको विद्युत् आयात गरिएको भए पनि आयातको परिमाण क्रमशः घट्दै गएको छ। यसले नेपाललाई ‘खुद आयातकर्ता’ बाट ‘खुद निर्यातकर्ता’ बन्ने यात्रामा थप मद्दत पुगेको मन्त्री खड्काले बताए।

विद्युत निर्यातको यो सञ्जाल केवल भारतमा सीमित छैन। बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ, जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ। बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ, जसले विदेशी मुद्रा आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ।

वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात गर्न थालिएको प्रणालीले ठूलो लाभ दिइरहेको छ। साथसाथै, भारतमा एनभीभीएनमार्फत मध्यकालीन सम्झौताका आधारमा समेत नियमित आपूर्ति भइरहेको छ।

नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ। ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत-बंगलादेश सीमामा रहेको बेहरामपुर-भेडामारा लाइनमार्फत नेपाली विद्युत् बंगलादेशसम्म पुग्न थालेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै