सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता – Nepalboli

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता

   २०८२ श्रावण १२, सोमबार  

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा भण्डास विप्पर कट्टेरीका एकै परिवारका १६जना चार दिन यता बेपता अवस्थामा रहेको सार्वजनिक भएको छ । उर्मिला हायूसहित १६ जना बेपता भएको गाउपालिकाले नामा सार्वजनिक गरेको छ। गाउँपालिकाले सोमबार बेपत्ता हायू परिवारको नामावली सार्वजनिक गरेको हो।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका १६ जनाको परिवार खोज्न रामेछापमा समेत प्रहरी परिचालन गरिएको छ । शुक्रबारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कविहीन भएका हुन् । रामेछापका प्रहरी नायब निरीक्षक भोला भट्टका अनुसार उनीहरु रामेछापतर्फ गएको आशङ्कामा रामेछाप नगरपालिकास्थित हायु बस्तीमा प्रहरी परिचालन गरिएको हो ।

गएको बिहीबार (८ साउन) मा साउन ८ मा स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जनाले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए । भत्ता बुझेपछि उनीहरूले घरमै सुँगुरको मासु खाएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन ।

गोलन्जोर क्षेत्रमा विपद्को घटना पनि नभएको र उनीहरू समूहमा नै हिँडेको आकलन गरिएको छ । सम्पर्कविहीन हुनेहरूको मोबाइलको लोकेसन रामेछापको टावरमा देखिएको छ । तर, गोलन्जोर भन्दा पारिपट्टि पर्ने सो टावरले गोलन्जोरमा पनि फोन सम्पर्क हुने खोजमा संलग्न अधिकृतहरू बताउँछन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन्। हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन्।

उनले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ। हायुको घरमा सामान्य क्षति देखिएको छ। हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ। तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै