भारत सरकारको अनुदानमा निर्माण हुने पाँचवटा विकास परियोजनाको बारे समझदारी पत्रमा हस्ताक्षर
भारत सरकारको अनुदान सहयोग अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन समझदारी पत्रमा सोमवार हस्ताक्षर भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यी परियोजनाहरुको कुल अनुमानित लागत नेरु ३९ करोड रहेको छ ।
निर्माण गरिने पाँच परियोजनाहरुमा धनुषाको बटेश्वर गाउँपालिका बटेश्वर–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवन, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालयको भवन, अछामको मेल्लेख गाउँपालिकाको श्री बासुकी माध्यमिक विद्यालयको भवन, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयको विद्यालय भवन, छात्रावास तथा पुस्तकालय र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवनको निर्माण रहेका छन् । यी परियोजनाहरुको कार्यान्वयन नगरपालिका र गाउँपालिका सहित नेपाल सरकारका स्थानीय निकायहरु तथा संस्थाहरु मार्फत गरिनेछ ।
निर्माण गरिने यी संरचनाहरुको निर्माणले नेपालका जनतालाई राम्रो शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने भारतीय पक्षले विश्वास लिएको छ । सन् २००३ यता भारत सरकारले आज समझदारी पत्रमा हस्ताक्षर भएका पाँचवटा परियोजनाहरुसहित नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ । यीमध्ये नेपालका ७ वटै प्रदेशभरि स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्रमा र सार्वजनिक उपयोगी वस्तुको निर्माणमा ४९६ परियोजनाहरु सम्पन्न भइसकेका छन् । बाँकी परियोजनाहरु विभिन्न चरणमा रहेका छन् ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको सशक्तिकरणका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको काठमाडौ स्थित भारतीय दुतावासले जनाएको छ ।