लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ।
प्रदेशसभाको विशेष अधिवेशन आज देखि
विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार (आज) देखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने छ ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने छन् । सोमबार मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका विषयमाथि आफ्नो भनाइ राखेपछि अविश्वास प्रस्तावमाथि मतदान हुने छ ।
विपक्षी दलहरुले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन् । उनीहरूले अविश्वास प्रस्तावमाथि आजै मतदान गराउनुपर्ने अडान राखेपनि सत्ता पक्षले नमानेकाले मतदान एक दिनपछि धकेलिएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।
विपक्षी दलले अविश्वास प्रस्तावको तयारी गरेपछि चैत ५ गते मुख्यमन्त्री पोखरेलले हिउँदे अधिवेशन अन्त्य गराएका थिए । अधिवेशन अन्त्य भएको एक महिनापछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
सोहीदिन विपक्षी दलहरुले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन गरेका थिए । सोही निवेदनका आधारमा वैशाख १५ गते प्रदेश प्रमुखले प्रदेश सभा सचिवालयलाई १९ गते विशेष अधिवेशन बोलाउन पत्र पठाएको थियो ।