अवैध रकम विदेशी लैजान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३५७, बहराइन दिनार ३०८ सहित युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका ९ तुल्सिपु घर भएका २४ वर्षीय अनिस थापा रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
हिमालयन एयर लाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विदेशी मुद्रा फेलापछि पक्राउ गरिएको हो ।
थप अनुसन्धानको क्रममा मुद्राहरु रूपन्देही तिलोत्तमा नगरपालिका ९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरूले दिएको भन्ने खुल्न आएपछि दिपेश राना लगायत तीन जनालाई समेत पक्राउ गरिएको छ ।
उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश ०१-०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारेका थिए ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको छ ।