नेपाली सेनाको सङ्ख्या घटाउनु हुँदैन – नेता गौतम
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्या घटाउने कुरा सेनाको अपमान बाहेक केही हुन नसक्ने तर्क गर्नुभयो ।
बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेपाली सेनाको सङ्ख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दुई लाख सेना थप गर्नुपर्ने प्रस्ताव गर्नुभयो । त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुग्ने सांसद गौतमले बताउनुभयो । गौरवगाथाले भरिएको नेपाली सेनाको सङ्ख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको सङ्ख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताउनुभयो ।
त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुन नसक्ने जिकीर समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन ।
नेपाली सेना अहिले लगभग ९६ हजारको सङ्ख्यामा छ । आजको नेपाली सेनाको स्थापना झण्डै २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहले स्थापना गरेको उहाँले बताउनुभयो । सेनाले नेपाल एकीकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।