भारतीय सेनाद्वारा एक लाख डोज कोरोना खोप प्रदान
भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ भ्याक्सिनको पहिलो खोप सहयोग स्वरुप प्रदान गरेको छ ।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मंगलबार एक लाख मात्रामा (कोभिसिल्ड) खोप हस्तान्तरण गरेका हुन् । सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा भिडियो कन्फेरेन्स गरी नरवणेले कोरोना खोप थापालाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भने सैनिक मुख्यालयमै उपस्थित थिए ।
नेपाली सेनाका अनुसार उक्त हस्तान्तरण कार्यक्रममा नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अन्यन्तै खुसी लागेको बताए । जवाफमा प्रधानसेनापति थापाले सहयोगका लागि नरवणे र भारतीय सेनालाई धन्यवाद दिए । थापाले महामारीविरुद्धको लडाइँमा प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न नेपाली सेना सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ प्रगाढ भएको बताए ।