सञ्चालनमा आएको ५ महिना सम्म अन्तर्राष्ट्रिय उडान भर्न असफल पोखरा विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जग्गा अधिग्रहणको ४७ वर्षपछि सञ्चालनमा त आयो तर ऋणै ऋणको बोझमा छ। यो विमानस्थल बनाउँदा लागेको चीनको झन्डै २२ अर्ब ऋण २०७९ चैत १ देखि २०९२ असोज १ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ ।
जुन रकम चिनियाँ मुद्राको सटही दर बढ्दा करिब २६ अर्ब पुगेको छ। विमानस्थल सञ्चालनमा आएको तीन महिना नपुग्दै पहिलो किस्ता बुझाउनुपर्यो। तर, कमाइ नै नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नै उक्त रकम बेहोर्यो। फेरि अब असोज १ गते पुनः किस्ता तिर्नुपर्ने हुन्छ।
भुक्तानी तालिकामा ऋण प्रतिबद्धता जनाइएको रकम १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ रकम युआन (करिब २६ अर्ब रुपैयाँ) रहेको उल्लेख छ। चीनको एक्जिम बैंकसँग ऋण सम्झौता हुँदा प्रति १ युआन करिब १६ रुपैयाँ थियो। अहिले यसको सटकी दर करिब १९ रुपैयाँ पुगेको छ। सात वर्षको ग्रेस अवधिसहित २० वर्षमा ऋण तिर्नुपर्नेछ। नेपाल सरकारले चीनको एक्जिम बैंकसँग २ प्रतिशत ब्याजमा लिएको ऋण प्राधिकरणलाई दिँदा ५ प्रतिशत तोकेको छ।
प्राधिकरणले २०७९ चैत १ गतेदेखि ५ करोड ३० लाख २८ हजार ४६५।५४ युआन (करिब ८५ करोड रुपैयाँ) का दरले ऋण तिर्दै जानुपर्नेछ। भुक्तानी पद्धति समान अर्धवार्षिक ऋण सेवा हुने उल्लेख छ। तर, अन्तर्राष्ट्रिय उडान त होइन, चार्टड उडानसमेत हुन नसक्दा यो ऋणको भार प्राधिकरणले नै बेहोर्नुपरेको हो। विमानस्थल बनाउन लिएको ऋणको साँवा–ब्याज र सञ्चालन खर्च गरी वार्षिक ३ अर्बको आर्थिक व्ययभार बेहोर्नुपर्ने हुन्छ।
विमानस्थलको वार्षिक सञ्चालन खर्च करिब १ अर्ब रुपैयाँसम्म हुने प्राधिकरण स्रोत बताउँछ। वार्षिक करिब पौने २ अर्ब साँवा–ब्याज तिर्नुपर्छ। योसहित वार्षिक खर्चको बोझ करिब ३ अर्ब पुग्ने देखिन्छ। त्यस हिसाबले मासिक रूपमा कम्तीमा २५ करोडभन्दा बढी कमाए खर्च धान्छ। यसमा आन्तरिकलाई समेटिएको छैन।
व्यावसायिक कार्ययोजनाबिना नै भएको लगानीले जोखिम बढेको अर्थविद् रामेश्वर खनाल बताउँछन्। आयोजनाले कमाउनुभन्दा पहिले नै ऋणको साँवा भुक्तानी गर्नुपरेको अर्थविद् रामेश्वर खनालको भनाइ छ।
यो विमानस्थल अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (पुस १७ गते) सञ्चालनमा आएको हो। तर, अन्तर्राष्ट्रिय उडानका लागि कुनै पनि प्रस्ताव नआएको नियामक निकाय प्राधिकरणले जनाएको छ। देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। तर, पहिलो पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। आन्तरिक उडान मात्रै भएका छन्। पोखराबाट विभिन्न देशमा सीधा उडान भर्न थाई स्माइल, जजिरा, साउर्थन चाइनालगायतले चासो देखाएर अध्ययन गरिरहेको बताए पनि उडान सुरु गर्न सकेका छैनन्।
पोखरामा अन्तर्राष्ट्रिय उडान ल्याउन नियामक निकाय प्राधिकरणसँग कुनै योजना देखिँदैन। आफ्नो तर्फबाट विमानस्थल बनिसकेको हुँदा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भौतिक पूर्वाधार तयार रहेको प्राधिकरणले बताउँदै आएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि प्रचार र कूटनीतिक पहल भइरहेको प्राधिकरणका राष्ट्रिय गौरव आयोजना प्रमुख बाबुराम पौडेल बताउँछन्।
तर, पाँच महिना अन्तर्राष्ट्रिय चार्टर्ड उडान पनि सुरु भएको छैन। चीन, भुटान, बैंककका विमान कम्पनीले पोखरा उडानका लागि चासो देखाए पनि औपचारिक रूपमा उडानका लागि प्रस्ताव नगरेको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन्।
प्राधिकरणले सन् २०१७ पछि हवाइ सम्झौता गरेका ४० देशमा नै अन्तर्राष्ट्रिय उडानका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेको जानकारी गराइसकेको बताएको छ। हवाई सम्झौता नभएका तर पोखरा र भैरहवा उडान गर्न चाहने अन्तर्राष्ट्रिय कम्पनीहरूसँग अस्थायी सम्झौता गरेर उडान भर्न सक्ने भुल बताउँछन्।