संसद्‍मा सरकार विरुद्ध नबोल्न सांसदहरूलाई देउवाको निर्देशन – Nepalboli

संसद्‍मा सरकार विरुद्ध नबोल्न सांसदहरूलाई देउवाको निर्देशन

   २०८१ माघ १२, शनिबार  

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक ढिक्का भएर संसद्‍मा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् ।

सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद् र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभई पार्टीको रूपमा आफ्ना धारण राख्न निर्देशन दिएको जानकारी दिए । बैठकमा मन्त्रीहरूले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराउनुभएको बताए ।

उनकाअनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसद्मा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रूपमा छलफल भएको छ । नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि एक ढिक्का भएर प्रस्तुत हुने निर्णय भएको बताए । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नै पर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राख्नुभएको बताए ।

उनले भने, ‘वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसद्मा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन रूपमा छलफल भयो । नेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि एक ढिक्का भएर प्रस्तुत हुने । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नै पर्ने बाध्यता भएकाले यसलाई अध्यादेशको रूपमा ल्याइएको हो । केही समस्या छन् भने संसदीय दलमै कुरा राख्न र संसद् अधिवेशनमा एक ढिक्का भएर प्रस्तुत हुन निर्देशन दिनुभयो ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिए । उनले पार्टीबाहेक पनि सरकारको तर्फबाट संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउने बारेमा सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराउनुभएको बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै