प्रधानमन्त्रीद्धारा दल सम्बन्धी अध्यादेश ल्याउने संकेत
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भएको भन्दै यस सम्बन्धी चर्चामा रहेको अध्यादेश आउन सक्ने संकेत गरेका छन । प्रधानमन्त्री ओलीले कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पादै कानुनमा सुधारको आवश्यकता रहेकाले त्यस्तो अध्यादेश आवश्यक रहेको जिकिर गरेका छन ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले अरु दल विभाजन गराउने नियतले अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मकता हल्ला फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गर्नुभयो ।
उहाँले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको तर तिनै विरोध गर्नेहरूले ‘लाज शरम’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफू त्यस्तो कुकर्म गर्ने मनसाय नरहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यस्को विरोध भयो भन्ने झुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले पनि भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जारी हुन नै बाँकी रहेको अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उहाँले देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरेको बताउनुुभयो । “हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’’, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भन्नुभयो, “राम्रो काम राति गर्न हुन्न भन्ने छ र रु के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र रु’’
सञ्चार क्रियाकलापका नाममा कीर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिलाउनुभयो ।