माओवादी केन्द्रीय समिति बैठक- अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित – Nepalboli

माओवादी केन्द्रीय समिति बैठक- अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

   २०८१ पुष २३, मंगलवार  

नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पारित गरेको छ। अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्त्व बैठक भएको बताउनुभएको हो।

बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिका लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उहाँले स्पष्ट गर्नुभयो ।

अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्याङ्कन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरूलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अब अभियानमार्फत व्यापकरूपमा जनताको बिचमा गएर महाधिवेशनमा जाने बताउनुभयो । उहाँले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उहाँले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्यविभाजन गर्दा उहाँको पनि गरिने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै