बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ- उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताउनुभएको छ । मङ्गलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवम् उपप्रमुहरूसँग प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा बोल्नुहुँदै अबका योजनाअनुसार प्रकृतिमैत्री रूपमा अघि बढाउनुपर्ने बताउनुभएको हो ।
‘‘बागमती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तर दिएका छौं । बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अगाडि बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘यहाँको वातावरण सहुाउनेगरी योजना अघि बढाउँछौं । कार्ययोजनामा छलफलमा आएका सुझावहरू समेटेर, सरोकारवालाहरूसँग छलफल गरेर अन्तिम रूप दिन्छौं ।’’ उहाँले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्त्वपूर्ण सुझावहरू आएको पनि बताउनुभयो ।
बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ वटा अरू नदीको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपसहरी क्षेत्र, सहरी क्षेत्र र तल्लो क्षेत्र गरी ५ भागमा वर्गीकरण गरेर अध्ययन गर्नेछ । २० वर्षे कार्ययोजनाको लागत अनुमान दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४–४४ माथि छलफल आयोजना गरेको हो । छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरी प्रकृतिमैत्री रूपमा योजना अघि बढाउनुपर्ने बताउनुभयो ।