संविधानलाई जीवन्त राख्न संशोधन आवश्यक छ- महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताउनुभएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश, प्रदेश तथा स्थानीय विभागद्वारा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले गणतन्त्र, सङ्घीयता र समावेशीलाई नचलाई आवश्यकता अनुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो।
महामन्त्री थापाले यसका लागि कांग्रेस र एमाले पार्टीबिच संयन्त्र बनिसकेको बताउँदै माओवादीलगायतका अन्य पार्टीबिच पनि सहमति गरी यस प्रक्रियालाई मूर्त रूप दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “वर्तमान संविधानमा देखिएको निर्वाचन प्रणालीका केही अव्यवहारिक पक्षलाई संशोधन गर्नुपर्दछ। सङ्घदेखि प्रदेशसम्मका मन्त्रालयको सङ्ख्या धेरै भएकाले सरकारको आकार ठुलो हुँदा समस्या देखिएको छ। यसमा पनि पुनर्विचार आवश्यक छ।”
निर्वाचन प्रणालीकै कारण सबैभन्दा ठुलो दलले सरकार बनाउन नपाउँदा गठबन्धन गर्नुपर्ने बाध्यताले मुलुकलाई सही दिशातिर लैजान कठिन भएको बताउनुभयो। गठबन्धनका कारण पार्टीले गुट बनाउँदा सरकार झनै अस्थिर हुने गरेको तितो अनुभव उहाँले सुनाउनुभयो। महामन्त्री थापाले सुशासनका बारेमा बोल्दै सरकारमा रहँदासम्म एक अर्का पार्टीका नेता मह जोडीजस्तै देखिने र छुटेपछि धारे हात लगाउने प्रवृत्तिको अन्त्य गर्न अहिलेसम्म ललिता निवास, गिरीबन्धु, वाइड बडी, सहकारी लगायतका चालीसभन्दा बढी काण्डको स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भ्रष्टाचारलाई शून्यतामा झार्नका लागि पनि स्थिर सरकारको आवश्यता पर्नेमा जोड दिनुभयो।
महामन्त्री थापाले पार्टीको कुनै पनि पदमा रहेको व्यक्तिले गरेको अपराधलाई पार्टीले जिम्मेवारी लिन नमिल्ने भन्दै त्यस्ता व्यक्ति थप सजायको भागिदार हुने बताउनुभयो। उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्दै २०८४ सालको निर्वाचनमा घोषणापत्र नभई उपलब्धिपत्र लिएर जानुपर्नेमा जोड दिनुभयो। राजनीतिक पार्टीले एकअर्कालाई गाली गर्ने, विश्वास नगर्ने र राम्रो कामको प्रशंसा गर्न नसक्दा युवा राजनीतिबाट बिमुख हुन थालेको बताउनुभयो। उहाँले सूचना प्रविधिको क्षेत्रमा हजारौँ युवा आकर्षित भइरहेको वर्तमान अवस्थामा कानुनमा संशोधन गरेर भए पनि युवा लक्षित कार्यक्रममा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो।