रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन, डीपी अर्याल कार्यवाहक सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।
महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।”
लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।
कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आकस्मिक बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ ।
यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको छ ।