पहिलो भारत-नेपाल पर्यटन सम्मेलनको आयोजना – Nepalboli

पहिलो भारत-नेपाल पर्यटन सम्मेलनको आयोजना

   २०८१ मंसिर २६, बुधबार  

नेपालस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै मंगलवार पहिलो भारत नेपाल पर्यटन सम्मेलनको आयोजना गर्‍यो।भारत र नेपालबीच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न बीटुबी कनेक्सन निर्माण गर्ने र उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धन गर्ने बारे कार्यक्रम केन्द्रित थियो ।

सम्मेलनको पूर्ण सत्र (प्लेनरी सेसन) मा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री अरुणकुमार चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। माननीय राज्यमन्त्रीसँगै भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्री प्रसन्न श्रीवास्तव र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपकराज जोशीले उक्त सत्रको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत रहेको भन्दै प्रशंसा गर्नुभयो र नेपाल पर्यटन बोर्डले भारत-नेपाल पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न पहलहरूबारे प्रकाश पार्नुभयो।

प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री अरुणकुमार चौधरीले आफ्नो मन्तव्यमा औपचारिक तथ्याङ्कमा उल्लेख नभए पनि नेपालको पर्यटनमा विशेषगरी स्थलमार्गबाट ​​हुने अन्तरदेशीय पर्यटनको ठूलो योगदान रहेको बताउनुभयो । वहाँले दुवै पक्षले विशेष गरी दुर्गम क्षेत्र जस्तैं सुदूरपश्चिम प्रदेशमा अन्तरदेशीय कनेक्टिभिटिमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

आफ्नो मन्तव्यमा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्री प्रसन्न श्रीवास्तवले भारत र नेपालबीच उच्च पर्यटन प्रवाहलाई बढावा दिइरहेको भौतिक र डिजिटल कनेक्टिभिटीमा भएको विकासबारे जानकारी गराउनुभयो। वहाँले नेपालका ठाउँहरु र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरुको प्रवर्द्धनमार्फत भारत-नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षको निरन्तर संयुक्त प्रयासमाथि जोड दिनुभयो ।

उत्तर प्रदेशकी पर्यटन अधिकृत सुश्री कीर्तिले विशेष गरी नेपाली भक्तहरुका लागि कार्यक्रमको महत्वबारे जानकारी दिने महाकुम्भ २०२५ विषयमा प्रस्तुति दिनुभयो । भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) द्वारा समर्थित भारतबाट आएको आठ सदस्यीय समूहले कथक नृत्य कार्यक्रममा प्रस्तुत गरेका थिए ।

सम्मेलनमा भएको बीटुबी कार्यक्रममा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटरहरूको सहभागीता रहेको थियो। विशेषगरी स्थलमार्ग हुँदै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरहरूले दुवै देशका पर्यटकहरुका लागि सम्भावित यात्रा योजनाहरूको बारेमा विचार विमर्श गरेका थिए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै