थाकरको कसिलो बलिङमा जनकपुरको लगातार चौथो जित – Nepalboli

थाकरको कसिलो बलिङमा जनकपुरको लगातार चौथो जित

   २०८१ मंसिर २३, आईतवार  

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान भएको खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई एक रनले हरायो । जितसँगै जनकपुरले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार चौथो हार खेपेको लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।

रोमाञ्चक र सनसनीपूर्ण खेलमा जितका लागि एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउनुभयो । उहाँले ३८ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका हर्ष थाकरले पाँच विकेट लिनुभयो । उहाँले चार ओभरमा २३ रन खर्चिएर पाँच विकेट लिनुभएको हो ।उहाँ प्लेयर अफ दि म्याच हुनुभयो । ललित राजवंशी, शेर मल्ल र किशोर महतोले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो । जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाउनुभयो ।

उहाँले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिनुभयो । उहाँले पूरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिनुभएको हो । कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिनुभयो ।

जितको लय जारी राखेको जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

यस्तै लुम्बिनी विराटनगरसँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै