२० लाख धरौटी बुझाएर सन्दीप लामिछाने रिहा हुने

बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो।
न्यायाधीश ध्रूवराज नन्द र रमेश ढकालको इजालशले यस्तो आदेश गरेको हो।
नाबालिका किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।
यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको दाबी गर्दै जन्मदर्ता लगायतका कागजातसमेत पेस गरेका थिए।
सन्दीप पक्षले उक्त कागजात पेस गरेपछि अदालतले अस्पतालबाट किशोरीको जन्मदर्ता झिकाउने आदेश दिएको थियो। अस्पतालबाट जन्मदर्ता प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो।
भदौ ५ गते राति १२ः५५ मा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ। पीडित भनिएकी किशोरीले आफूमाथि सन्दीपले पटक–पटक बलात्कार गरेको बयान दिएकी थिइन्।
उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।
पछि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। त्यसयता उनी केन्द्रीय कारागार सुन्धारामा थिए।