भारतीय जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसादले नेपाली नागरिकता पाए
पशुपतिनगर(इलाम) । इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दिपक)ले आज नागरिकता पाएका हुन ।
४० वर्ष भारतको कोल्कोतामा जेल जीवन भोगेर हालै घर आइपुग्नुभएका दुर्गाप्रसाद तिम्सिना (दीपक)ले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका छन ।
२०१७ साल साउन २० गते जन्मनुभएका तिम्सिनाको जन्म दर्ता, नागरिकता अहिलेसम्म थिएन । तिम्सिनाको उपचारलगायत अन्य प्रक्रियाका लागि नागरिकता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाइएको छ ।
माई नगरपालिका १० नम्बर वडा कार्यालयबाट हिजो (बुधबार)नै दुर्गाप्रसादको नागरिकता बनाउनका लागि आवश्यक कागजपत्र तयार पारिएको थियो ।
प्रदेश १ सरकारले दुर्गाप्रसादको उपचारमा लाग्ने सबै खर्च ब्यर्होने भएपछि तिम्सिनाको नागरिकता बनाइएको छ ।
के छ त दुर्गाप्रसादको अवस्था ?
केही दिन अघि जेलमुक्त भई घर आउनुभएका दुर्गाप्रसाद बिस्तारै घरपरिवार आफन्तसँग घुलमिल हुन थाल्नुभएको छ ।
घर आउँदा टोलाएर मात्र बस्ने तिम्सिना बिस्तारै बोल्ने, खुलेर आफना कुरा भन्ने जस्ता कार्य गर्न थाल्न भएको छ । भतिज गोपालका अनुसार उहाँको धेरै समय गीत गाएर बित्छ । गोपाल भन्नुहुन्छ ‘ठूलो बुवाले गीत गाएको सुन्दा मलाई नै रुन मन लाग्छ ।’ ‘बिरक्तिएका गीत मात्र गाउनुहुन्छ ’ गोपाले भन्नुभयो ।
दुर्गाप्रसादले आफूलाई पेट दुख्ने, टाउको दुख्ने,आँखा दुख्ने, ढाड दुख्ने र दिमागमा समेत समस्या रहेको बताउनुभएको भतिज गोपालले जानकारी दिनुभयो ।
सानै उमेरमा भारतको दार्जिलिङ गएपछि सन १९८१ मा हत्या अभियोगमा उहा दार्जिलिङ जेल पर्नुभएको थियो । त्यसपछि २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता जेल लगिएको थियो ।
दीपक जैसी नामले चिनिने तिम्सिना कोलकातास्थित दमदम सेन्ट्रल जेलमा ४० बर्ष बस्नुभएको थियो ।
इलामको एकतप्पाबाट २०३७ सालको अन्तिमतिर कामको खोजीमा दार्जिलिङ जानुभएको थियो । सामान्य लेखपढ भएका उहाँ घरायसी गर्जो टार्नका लागि कामको खोजीमा त्यहाँ पुग्नुभएको परिवारको दावी छ ।
सन १९८० मे ११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो । दार्जिलिङका नैने घले नाम गरेका व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अरोपमा जाहेरी दिएपछि भारतीय प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ले पठाएको पत्र घरमा आएको थियो । उक्त चिठीको व्यहोराअनुसार खोजतलास प्रक्रिया शुरु भएको थियो ।