एमाले कार्यालयको जग्गादान विरुद्ध अल्पकालीन आदेश
नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए।
गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन्। भवन पनि उनैले बनाइदिने घोषणा गरेका छन्।
तर अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै चर्को आलोचना भइरहेको छ।
गत दशैंको फुलपातीको दिन कलंकीमा एमाले पार्टी कार्यालयको शिलान्यास भएको थियो, त्यहाँ उपस्थित व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए ।
यो घटना सार्वजनिक भएपछि एमालेको आलोचना भएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।