नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकन हुदै – Nepalboli

नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकन हुदै

   १६ भाद्र २०७९, बिहीबार  

थप दुई बन्दरगाह उपलव्ध गराउन भारत सकारात्मक

नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनको तयारी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल–भारत व्यापार सन्धि २००९ लाई परिमार्जन गरी पुनरवलोकन गर्न लागेको हो । यो सन्धि सन् २०१९ मा नवीकरण भएको थियो । यो सन्धिमा प्रत्येक सात/सात वर्षमा स्वतः नवीकरण हुने प्रावधान छ । दुवै पक्ष सहमतिमा आवश्यकताअनुसार परिमार्जनसहित नवीकरण हुनसक्छ ।

व्यापार र पारवहन सन्धि छुट्टाछुट्टै सम्झौता हुने गर्छ । यस पटक भने दुवैको पुनरवलोकन गर्ने गरी छलफल भइरहेको मन्त्रालयले जनाएको छ । सन् २०१९ पछि सन्धिबारे तीन पटक दुवै पक्षबीच ‘रिभ्यु मिटिङ’ भइसकेको मन्त्रालयले जनाएको छ ।

यी बैठकमा नेपालले कृषिजन्य वस्तु (प्राथमिक वस्तु) आयात निर्यातमा कर नलगाउने विषय उठाइएको छ ।

‘नन रेसिप्रोकल एग्रिमेन्ट अन इम्पोर्ट अफ प्राइमरी प्रडक्ट्स’ प्राविधिक सहयोग, चार उत्पादन (धागो, वनस्पति घिउ, तामाको तारलगायत) मा स्थिर कोटा, उत्पत्तिको प्रमाणपत्र, स्थानीय अधिकारीको संयुक्त बैठक र तिनको कार्यान्वयन, नाकामा व्यापार पूर्वाधार निर्माण, अतिरिक्त व्यापार मार्गलगायतका विषयलाई नेपालले उठाइएको छ । भारतमा निर्यात हुने नेपाली वस्तुको ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्ने वर्तमान व्यवस्थालाई २५ प्रतिशतमा झार्नुपर्ने विषय पनि अगाडि सारिएको मन्त्रालयले जनाएको छ ।

यस्तै भारतबाट आयात हुने कृषिजन्य उत्पादनमा नेपालले ९ प्रतिशत कृषि विकास शुल्क लगाउँदै आएकामा भारतीय पक्षले यसलाई हटाउन माग गरेको छ । भारत सरकारले कृषिमा धेरै अनुदान दिइरहेकाले कृषि विकास शुल्क हटाउँदा स्वदेशी वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै नेपालले यो शुल्क यथावत् राख्ने धारणा बैठकमा राखेको मन्त्रालयले जनाएको छ ।

यसै गरि नेपालले भारतसँग थप दुईवटा सामुद्रिक बन्दरगाह (पोर्ट) उपलब्ध गराउन माग गरेको छ । भारतको उडिसाको धाम्रा बन्दरगाह र गुजरातको मुन्द्रा बन्दरगाह उपलब्ध गराइदिन नेपालले भारतीय पक्षलाई अनुरोध गरेको मन्त्रालयले जनाएको छ । दुई बन्दरगाह उपलब्ध गराउन भारतीय पक्ष सकारात्मक रहेको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता डा नारायणप्रसाद रेग्मीले यस विषयमा छलफल भइरहेको र निर्णय भने भइनसकेको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै