पार्टी मोडालिटीबारे छलफल गर्दैछौं – प्रचण्ड – Nepalboli

पार्टी मोडालिटीबारे छलफल गर्दैछौं – प्रचण्ड

   १२ चैत्र २०७७, बिहीबार  

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन्।

दाहालले नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका हुन्।

‘पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छलफलमै छौँ,’ अध्यक्ष दाहालले भने।

उनले माओवादी केन्द्र कम्युनिस्ट एकता प्रक्रियामा सङ्ख्यात्मकरुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए।

दाहालले एक भएका दुई कम्युनिस्ट पार्टीलाई यथावत बनाउने अदालतको निर्णय असहमत भए पनि स्वीकार्दै विभिन्न जनवर्गीय सङ्गठनमा छलफल गर्दै सबैलाई समेट्ने संचना बनाउने विषयमा पार्टी निकट व्यापारिक सङ्गठनसँग सुझाव माग गरे।

कार्यक्रममा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रलाई पुनर्गठित गरिरहेको बताउँदै वर्तमान चुनौतीलाई सामना गर्ने सामर्थ्य जुटाइरहेको उल्लेख गरे।

‘एकाधिकार पुँजीवादले जनताको समस्या समाधान गर्दैन, विभेद र अभावमा बाँच्नुपर्ने बाध्यतालाई प्रगतिशील पुँजीवादले मात्रै समाजवादतर्फ लैजान्छ’, उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै