संसदीय उपसमितीद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुुगमन – Nepalboli

संसदीय उपसमितीद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुुगमन

   २०८१ असार २४, सोमबार  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमिता भएको वा नभएको भन्ने वारेमा वारेमा उजुरी परे पछि संसदको संसदीय उपसमितिले त्यस वारेमा अनुुगमन गरेको छ । सार्वजनिक लेखा समितिमा परेको उजुरी परे पछि अध्ययन गर्न १३ असारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा उपसमिति बनेको थियो ।

उपसमितिले सोमवार विमानस्थल र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसँग छलफलसँगै विमानस्थलको स्थलगत अध्ययन गरेको छ । सोमबार टोलीले सरोकारवालासँग छलफल गरेको छ । उपसमिति संयोजक लिङदेन स्थलगत अध्ययन, विज्ञहरुसँग छलफल र सरोकारवालासँगको अन्तरक्रियापछि प्रतिवेदन तयार गरिने बताउनुभयो ।

“हामी मुख्यतया यो विमानस्थल निर्माणमा अनियमितता भए–नभएको हेर्र्छौ” उहाँले भन्नुभयो, “अनियमितता भएको रहेछ भने गर्नेलाई कारवाहीको सिफारिस गर्छौँ भने विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका उपायबारे सुझाव दिन्छौँ ।” उपसमितिले विमानस्थलका लागि काटिएको रिठेपानी डाँडासमेत अवलोकन गरेको छ ।

उपसमितिले अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण र प्राविधिक त्रुटि भए अध्ययन गरी सार्वजनिक लेखा समितिलाई सुझाव दिनेछ । संसदीय उपसमितिमा लिङ्देनसहित सांसदहरु गोकुलप्रसाद बास्कोटा, प्रेमबहादुर आले, जनार्दन शर्मा, देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी हुनुहुन्छ ।

सन् २०२३ को नयाँ वर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्नुभएको थियो । सोमबार भएको छलफलमा सरोकारवालाले सम्झौताभन्दा विमानस्थलको रनवेको उचाइ कम भएको, भूराजनीतिक कारणले उडान हुन नसकेको, स्थानीयका समस्या सुल्झाउन ध्यान नदिइएकोजस्ता गुनासो गरेका थिए ।

२२ अर्ब ६१ करोड रुपियाँमा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यो विमानस्थल निर्माण गरेको हो । मुआब्जासहितका काममा नेपाल सरकारले यहाँ चार अर्बभन्दा बढी छुट्टै खर्च गरिसकेको छ । चार हजार छसय रोपनी जग्गा अधिग्रहण र करिब सातसय रोपनी सार्वजनिक जग्गामा यो विमानस्थल बनेको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै