संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ- अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यानजन्य हिंसालाई सँगै टुंग्याउनेगरी नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले पीडकले सजाय पाउने र पीडितले न्याय पाउनेगरी संक्रमणकालीन न्याय टुंग्याउन जरुरी रहेको बताउनुभयो । उहाँँले संक्रमणकालीन न्याय टुंगोमा लग्न सबै पक्ष क्रियाशील भइ काम गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भइ काम गरेमात्र संक्रमणकालीन न्याय टुङ्गो लगाउन सकिने बताउनुभयो । अध्यक्ष मगरले सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायको टुंगो लगाउँदा पीडितमैत्री हुनुपर्छ, बालसैन्यको कुरा छ । यौनजन्य हिंसाको कुरामा भयो । आदि कुरामा पीडकले सजाय पाउनुपर्छ, पीडितले राहत, क्षतिपूर्ति, परिपूरण पाउनुपर्छ । न्याय पाउने अवस्था सिर्जना हुनुपर्छ । यसमा हामी सबै लाग्नुपर्छ । अहिले मुख्य कुरा भनेको ऐन बन्नुपर्छ । ऐन नबनिकन न्याय दिन सकिँदैन । संक्रमणकालीन न्याय टुंगोमा लग्न सरकार क्रियाशिल हुनुपर्छ, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय हुनुपर्छ । सबैको संयुक्त सहयोग नभइ टुङ्गोमा पुग्न सक्दैन । सबैको संयुक्त सहयोग चाहिन्छ ।’
सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरु समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो ।