सप्तकोशी नदीमा बहाव बढ्यो, चार लाख क्युसेक नजिक
सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार विहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ ।
आज रातिबाट पानीको बहाव झन बढेपछि ब्यारेजका ५६ वटै ढोका आइतवार विहान ९ बजेदेखि खोलिएको थियो । सप्तकोशी चतरा जल मापन केन्द्रले आज दिउँसो ४ बजे १ लाख ७२ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी योजना आयोग बिराटनगरका सम्पर्क भूआर्जन अधिकृति प्रमोद पौडेलले बताउनुभयो ।
आज विहान १० बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार १५० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो । आज विहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ंं लाख ४२ हजार ६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । हिजो शनिवार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनुभयो । उहाँका अनुसार कोशीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको छ ।
‘९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने कोशी ब्यारेज पुल भए पनि अहिलेसम्म सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार दुईसय क्युसेक पानी बगेको कोशी योजना बिराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार सन् १९८७ मा ५ लाख १ हजार ७७१ क्युसेक, सन १९६८ मा ७ लाख ६८ हजार दुईसय क्युसेक, सन् १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १९३ क्युसेक, सन् २००४ जुलाई ११ मा ३ लाख ९८ हजार ६६९ क्युसेक र २०१९ जुलाई १३ मा ३ लाख ७१ हजार ११० क्युसेक पानीको वहाव आएको थियो ।