माओवादीले कांग्रेस र एमालेलाई आजित बनाइसक्यो- कोईराला – Nepalboli

माओवादीले कांग्रेस र एमालेलाई आजित बनाइसक्यो- कोईराला

   २०८१ असार २०, बिहीबार  

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन फेर्दै नेकपा (माओवादी केन्द्र) ले दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेलाई आजित बनाइसकेको बताएका छन । ‘कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले। एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं। दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो। त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हो,’ उनले भने।

एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको पनि उनले बताए। ‘संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गर्‍यौं, नागरिक समाजले पनि कुरा गर्न थाल्यो,’ उनले भने।

एमालेसँग केही समयअघि नै कांग्रेसले समीकरण गर्नुपर्नेमा ढिलो भएको पनि कोइरालाले बताए। ‘कोशीमा एमालेसँग समीकरण पनि गरिएको थियो। त्यस बेला मलाई पार्टीमा नेताहरूले गाली पनि गरे,’ उनले भने, ‘ त्यही बेला केन्द्रमा पनि गठबन्धन गरेको भए अहिलेको अवस्था त आउँदैनथ्यो।’

संविधानमा त्रुटि भए पनि यसलाई धेरै चलाउन नहुने उनले बताए। सबैको आफ्ना चाहना हुने र थेग्न नसकिने पनि उनको भनाइ छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै