प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ- घनश्याम भुसाल
नेकपा (एकीकृत समाजवादी) का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताउनुभएको छ। बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताउनुभयो। उहाँले प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको बताउनुभयो।
त्यसैगरी उहाँले पार्टीको नेतृत्व सर्वसहमतिमा टुङ्ग्याउने प्रयास भइरहेको बताउनुभएको छ। उहाँले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिको चासो, चिन्ता र सङ्कल्प रहेको भन्दै आफूहरू त्यसै अनुरूप अगाडि बढेको बताउनुभयो। नेतृत्व सर्वसम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उहाँको भनाइ छ।