एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपालसहितको टीम दोहोरिएको छ। आज सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्याउने घोषणा गरेको हो । भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए। यस्तै झलनाथ खनाललाई सम्मानित नेता नै चयन गरेको छ।
बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो। उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।
गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो। बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने भएको छ।
सम्मानित नेता खनालले शुक्रबारसम्म बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो सहमतिबाटै लगाइने महाधिवेशन हलमा बताएका छन्। अन्य पदाधिकारी र सदस्यको नाम भोलि विहान १० बजेपछि घोषणा हुने एक नेताले बताए।