फरार रहेका पूर्व सांसद तथा लोसपा नेता यादव पक्राउ
विगत आठ वर्षदेखि कर्तव्य ज्यान मुुद्दामा अभियुक्त रही फरार रहेका पूर्व सांसद तथा लोसपा नेता कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता रहनु भएका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैयसवारले बताउनुभयो ।
महोत्तरीको सम्सी गाउँपालिका –५ स्थित हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिशाबाट आउँदै गरेको प्र २–०२–००१ च ००४५ नम्वरको महेन्द्रा पिकअप गाडीले ठक्कर दिइ भागेको घटनासम्बन्धि अनुसन्धान गर्नेक्रममा पूर्व सांसद यादव पक्राउ परेको प्रहरी नायव उपरीक्षक जयसवारले बताउनुभयो ।
स्कारपियो गाडीको चालकसहित ३ जना घाइतेहरुलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको र ठक्कर दिने महेन्द्रा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ चालकको नामथर वतन सोधपुछ गर्दा महोत्तरीको सोनमा गाउँपालिका वडा –५ खैरवनी (साबिक खैरवनी गाविस वडा नं–०६) बस्ने ४५ वर्षीय कौशलकुमार यादव रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
पूर्व सांसद यादवमाथि २०७२ भदौं २५ गते प्रेमबहादुर बिकले दिएको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सञ्जयकुमार साह समेत भएको कर्तव्य ज्यान मुद्दा दायर रहेको र महोत्तरी जिल्ला अदालत जलेश्वरमा पेश भइ यादव हालसम्म फरार रहेकाले मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा ९८ बमोजिम मुल्तवीमा रहेको थियो ।
फरार प्रतिवादी यादवलाई आवश्यक कारवाहीका लागि आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक जयसवालले बताउनुभयो ।
२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई आन्दोलनको क्रममा मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।