नेकपा एस महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास – Nepalboli

नेकपा एस महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास

   २०८१ असार १४, शुक्रबार  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।

पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिनुभएको छ । सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गर्नुभएको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाउनुभएको छ ।

कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी हुनुहुन्थ्यो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।

यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै