अमेरिकाले दिएन सन्दीप लामिछानेलाई फेरि भिसा
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । बिहीबार लामिछानेले तेस्रो पटक अन्तर्वार्ता दिएका थिए । तर, दूतावासले यसपटक पनि अस्वीकार गरेको सन्दीपनिकट स्रोतले बताएको छ ।
उनले यसअघि दुई पटक अन्तर्वार्ता दिएका थिए । सरकारी निकायहरूले पनि सन्दीपलाई भिसा दिलाउन पहल गरेका थिए ।
यसपटक पनि भिसा अस्वीकार भएपछि उनले अमेरिका र वेस्ट इन्डिजमा हुने टी २० विश्वकप खेल्ने सपना अधुरो रहने सम्भावना बढेको छ ।
नेपाली टोली विश्वकप खेल्न अमेरिका पुगिसकेको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट सङ्घले लामिछानेमाथिको निलम्बन फुकुवा गर्दै नेपाली टीममा समेट्ने प्रयास गरेको थियो ।