गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले निकाल्यो मसाल जुलुस – Nepalboli

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले निकाल्यो मसाल जुलुस

   २०८१ जेष्ठ ७, सोमबार  

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तरूण दलले मसाल जुलुस निकालेको छ । सोमबार काठमाडौंको बत्तीसपुतलीदेखि गौशालासम्‍म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरूण दल काठमाडौंले मसाल जुलुस निकालेको हो ।

साथै सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको तरूण दल काठमाडौंका अध्यक्ष दिनेश विक्रम शाहले बताए ।उनले भने, ‘गृहमन्त्री ज्‍यूको सहकारीमा ठगी गर्नु भएको कागजात नै सार्वजनिक भइसकेपछि पनि कारबाही नगर्नुले सरकार सहकारी ठगहरूको संरक्षण गरिरहेको अनुभूति भइरहेको छ। सहकारी ठगलाई सरकारले नै जोगाएर राखेको छ । त्यसकारण गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’

उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, रवि लामिछाने होइन ठगी लामिछाने, सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्‍ने ?, गजब छ बा, बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग’ लगायतका नारा लगाएका थिए ।

गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे जवाफ दिंदै आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै