कांग्रेस उपसभापति धनराज गुरुङद्धारा गृहमन्त्री विरुद्ध अवहेलनामा कारबाहीको माग
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिएका छन् । गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्नुपर्ने गुरूङको माग छ ।
‘प्रतिनिधि सभा नियमावालीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकाले सोतर्फ समेत विचार गरी निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भीर रूपले माग गर्दछु’, गुरूङले सभामुखलाई लेखेको निवेदनमा उल्लेख छ ।
गुरूङले निवेदनसँगै रातो कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २४ असोज २०६४ मा गरेको फैसलाको प्रतिलिपि पनि संलग्न गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसका नेताहरुका विषयमा पनि आमसञ्चार माध्यममा विभिन्न समाचार प्रकाशित भएको भन्दै यी विषयमा पनि संसदीय छानबिन समिति बनाउने हो भनी प्रश्न गरेका थिए । उनले रातो पासपोर्ट दुरुपयोग, त्रिचन्द्र क्याम्पसमा बगैंचा निर्माणमा भ्रष्टाचार भएको, कृषि कार्यका लागि अनुदान लिएर अपचलन गरेकोलगायत आरोप कांग्रेसका सांसदमाथि लागेको बताएका थिए ।
गुरूङले लामिछानेको उक्त भनाइले अदालत र संसदको समेत अवेहलना गरेको भन्दै कारवाहीको माग गरेका छन् । लामिछानेले अनैतिक र तथ्यहीन आरोप लगाएको भन्दै गुरुङले ती आरोपलाई पुष्टि गर्नुपर्ने र नभए उनीमाथि कारवाही हुनुपर्ने माग गरे ।