मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन – Nepalboli

मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन

   २०८१ जेष्ठ ७, सोमबार  

प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप०ले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत दुई करोड ५० लाख ५८ हजार राजस्व सङ्कलन गरेको हो ।

साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका एक सय ५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनीहरूबाट एक लाख ५२ हजार राजस्व सङ्कलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार तीन सय दुई विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ । सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा दुई करोड ४९ लाख छ हजार प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति एक हजार प्रवेश शुल्क लिँदै आएको छ । त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार प्रवेश शुल्क लिने गरिएको उहाँको भनाइ छ । यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको सङ्ख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व सङ्कलन गरिसकेको छ । यस वर्ष १२ हजारभन्दा बढी विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै