तनहुँमा भएको आगलागीबाट सात करोड ६० लाखको क्षति
तनहुँको सदरमुकाम दमौलीमा गए राती भएको आगलागीबाट सात करोड रुपियाँ बढीको क्षति भएको छ । प्रारम्भमा सात करोड ६० लाखको क्षति भएको पाइएको र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । २० जना व्यवसायीको २३ वटा सटरमा रहेको समान जलेर ध्वस्त हुँदा सो क्षति भएको पाइएको गौतमले बताउनुभयो ।
जिल्ला समन्वय समितिको मातहतमा रहेको व्यास नगरपालिका–३ मेनरोड, फलफूल लाइनमा आइतबार राती करिब १२ बजेदेखि आगलागी भएको थियो । सो लाइनका २३ पसल वटै सटरमा रहेको समान पूर्णरुपले ध्वस्त भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तत्काल परिचालन गरी सोमबार बिहान ७ सात बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको प्रजिअ गौतमले जानकारी दिनुभयो ।
व्यास नगरपालिका, तनहुँ जलविद्युत आयोजना, पृथ्वीराजमार्गको पोखरा–मुस्लिन सडक विस्तार आयोजना गरी चार वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएकोले बजारका अन्य क्षेत्रमा आगो नसल्किएको गौतमले बताउनुभयो । ठुलो जनशक्ति राती देखि नै प्रयोग गरिएको र धेरै दमकल भएकोले आगो नियन्त्रण लिन सफलता मिलेको गौतमले बताउनुभयो ।