सभामुख पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत भए- कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधि सभा बैठक बसेपछि सोमबार दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले सभामुख घिमिरेले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ देखिएको बताएको हो ।
संसदीय दलको बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको पुनः पुष्टि गरेको बताए । ‘आज सभामुखजीले विपक्षी दललाई पनि बोल्न दिनुभएन । सभामुखजीले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ,’ उनले भने, ‘सत्ता पक्षको निरंकुशताको मनोवृत्ति छ । यसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको पुनः पुष्टि गरेको छ ।’
संसद् विपक्षीको हुन्छ भन्ने मान्यता पनि स्थापित रहेको उनको भनाइ छ । ‘आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलले पटक–पटक बोल्न माग गर्यौँ । तर सभामुखजीले हामीलाई बोल्ने अवसर दिनुभएन । सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरको चलन हो,’ उनले भने ।
संसद्लाई ब्यारेकजस्तो गरेर विश्वासको मत लिने काम भएको उनले बताए । सोमबार प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास मत लिएका थिए । कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय नभएको लेखकले बताए ।