नयाँ दल गठनविरुद्ध जसपा नेपालका अध्यक्ष यादवद्वारा सर्वोच्चमा रिट
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । अध्यक्ष यादवले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाएर रिट दर्ता गर्नुभएको हो ।
यादवद्वारा दायर रिटमा आयोगको निर्णयलाई खारेज गर्न माग गरिएको छ । वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । सर्वोच्चले रिटको पेसी जेठ २ गतेका लागि तोकेको छ ।