कंगनालाई डाक्टर बनाउन चाहन्थे उनका पिता

बलिउड नायिका कंगना रनौत ३४ वर्ष पुगेकी छिन् । २३ मार्च, सन् १९८७ मा हिमाचल प्रदेशमा जन्मेकी कंगना आफ्नो विवादास्पद बयान, अभिनय कला र व्यक्तिगत जीवनका कारण सधैं चर्चामा रहन्छिन् । हुन त कंगनाको फिल्मी करियरसँग जोडिएका कुरा धेरैलाई थाहा छ । तर केही यस्ता तथ्य पनि छन् जुन सायद धेरैलाई थाहा छैन होला । आउनुहोस्, यसबारे जानकारी लिऔं ।
हजुरबुवा रिसाएका थिएः
कंगनाले एकपटक आफ्नो अन्तरवार्तामा भनेकी थिइन्, ‘जब मैले अभिनयमा आफ्नो करियर बनाउने कुरा पितालाई भनेकी थिएँ तब उहाँ असाध्यै रिसाउनु भएको थियो । यहाँसम्म कि उहाँले घरबाट निस्किएर जान पनि भन्नुभएको थियो । म अभिनयमा नै आफ्नो करियर बनाउन चाहन्थेँ त्यसैले कुनै पैसा नलिइकनै घरबाट बाहिर निस्किएँ । जब मेरो पहिलो फिल्म ‘ग्याङ्गस्टर’ मेरा हजुरबुवाले हेर्नुभयो तब उहाँ असाध्यै रिसाउनु भएको थियो र मेरो नामबाट थरसमेत हटाउन भन्नुभएको थियो । मैले फिल्ममा किसिङ सिन दिएको थिएँ, त्यसैले रिसाउनुभएको थियो । ’
थिएटरमा गरिन् कामः
कंगनाले आफ्नो अभिनयको करियरको सुरुवात दिल्लीमा अस्मिता थिएटर ग्रुपसँग गरेकी थिइन् । उनले चर्चित रंगमञ्च निर्देशक अरविन्द गौडबाट अभिनयको तालिम पनि लिएकी छिन् । उनले अरविन्दको थिएटर कार्यशाला इन्डिया ह्याबिटेट सेन्टरमा भाग लिइन् र थुप्रै नाटकमा पनि काम गरिन् । उनको पहिलो नाट गिरिश कर्नाड ‘रक्त कल्याण’ थियो । बलिउडमा उनलाई महेश भट्टले मौका दिएका थिए ।
उनले फिल्म ग्याङ्गस्टरबाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइने् । यो फिल्मका लागि उनले बेस्ट डेब्यस् नायिकाको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । यो फिल्मको सफलतापछि उनलाई बलिउडमा मीना कुमारी जस्तै ट्रेजडी क्विन भन्न थालिएको थियो । यसबाहेक उनले फेशन, वो लम्हे, लाइफ इन ए मेट्रो, वन्स अपन ए टाइम इन मुम्बई, रिवल्वर रानीजस्ता सुपरहिट फिल्म दिएकी छिन् ।
कफी सपमा परेको थियो अनुराग बसुको नजरः
कंगनाले आफ्नो बलिउड करियरको सुरुवात निर्देशक अनुराग बसुको फिल्म ग्याङ्गस्टरबाट गरेकी थिइन् । अनुरागले कंगनालाई सबैभन्दा पहिला एउटा कफी शपमा देखेको र फिल्मका लागि साइन गराएको बताइन्छ ।
कंगनालाई असाध्यै मन पर्छ दिदीः
कंगनाका पिता अमरदीप रनोट व्यापारी हुन् र उनकी आमा आशा रनोट स्कूलमा शिक्षिका हुन् । उनकी दिदी रंगोली उनलाई असाध्यै मनपर्छ । रंगोली कंगनाकी म्यानेजर हुन् । एसिड आक्रमणजस्ता पीडादायी दुर्घटनाबाट गुज्रिएपछि पनि जीवनदलाई नयाँ ढङ्गले चलाएकी रंगोलीको जीवनमा कंगनाले बायोपिक बनाउन चाहेको पनि बताइसकेकी छिन् । उनका एक भाइ छन् । उनको नाम अक्षत हो ।