समाज रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण- मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताउनुभएको छ । पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवमा शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले स्थानीय समुदायको सचेतनामा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम् समग्रतामा केन्द्रित रहने भए पनि स्थानीय सञ्चारमाध्यमको समाज रुपान्तरणमा बढी भूमिका रहने मन्त्री शर्माले बताउनुभयो । यसलाई थप समुदायको सहयोगमा सबल बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।
मन्त्री शर्माले सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्न सकेकोमा प्रशंसा गर्नुभयो ।
सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । संविधान बनेको लामो समयसम्म पनि आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने सङ्घीय कानुन नबन्दा केही अन्योल पनि देखिएको उल्लेख गर्नुहुँदै उहाँले यसलाई चिर्दै जतिसक्यो चाँडो आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आमसञ्चार क्षेत्रको छाता कानुनको रुपमा आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने जानकारी मन्त्री शर्माले गराउनुभयो । आमसञ्चार ऐन पारित भएपछि सङ्घीयताको मर्मअनुरुप आमसञ्चार क्षेत्रको पुनःसंरचना हुने उहाँले बताउनुभयो ।