सङ्घीय गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु -राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताउनुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘राजनीतिक अस्थिरताको शृङ्खलाले यो देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो, मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु ।’ तपाइहरूको राजनीतिमा आफ्नो भन्नु केही नरहेको तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता भएको पौडेलले बताउनुभयो ।
‘प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ’ उहाँले भन्नुभयो, “तपाईहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।”
उहाँले तनहुँलाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको चर्चा गर्नुभयो । जिपी कोइराला श्वास प्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र संसारमा कुनै पनि नेपालीले एक पटक नआइ नहुने भानु साहित्य उद्यानले तनहुँलाई विशिष्ट जिल्ला बनाएको उहाँको भनाइ छ । उहाँले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, “विकासको काम रोकेर कानुनको कुरा नगरौं, न्याय पनि जनताको पक्षमा हुनुपर्छ यो मेरो सुझाव र सल्लाह हो ।” राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्ड रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिम प्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चित्ता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले त्यसका लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी रहेको बताउनुभयो । “सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ” राष्ट्रपति पौडेलले भन्नुभयो ।