भारत सरकारको आर्थिक सहयोगमा खोटाङमा विद्यालय निर्माण – Nepalboli

भारत सरकारको आर्थिक सहयोगमा खोटाङमा विद्यालय निर्माण

   २०८० चैत्र २२, बिहीबार  

भारत सरकारको ३ करोड ६१ लाख आर्थिक सहयोगमा नेपालको खोटाङ जिल्लाको रावा बेसी गाउँपालिकास्थित श्री शारदा माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको निर्माण सम्पन्न भएको छ ।  नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्धघाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख श्री सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री सुमन शेखरले विद्यालय भवन संयुक्त रुपमा उद्घाटन गरेका छन ।

उद्धघाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको थियो । यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो । कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५०५ छात्रा रहेका छन् ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा रहेको छ ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ४ वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै