नागरिक उन्मुक्ति पार्टीको विवाद चरम उत्कर्षमा : केन्द्र र प्रदेशमा फरक–फरक ह्विप
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा आन्तरिक विवाद चरम उत्कर्षमा पुुगेको छ । पार्टी संस्थापक तथा संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ विचमा वर्तमान सत्ता गठबन्धनलाई समर्थन गर्ने कि नगर्नै भन्ने विषयमा फरक फरक मत देखिए पछि पार्टी फुटको वाटोमा अघि वढेको देखिन्छ । अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी र दलका सदस्यलाई नियन्त्रण गर्न आक्रामक देखिनुभएको छ भने संरक्षक चौधरी पनि श्रेष्ठ सहित उनी पक्षका नेता कार्यकर्तालाई पार्टी वाट निष्कषण गर्ने तयारी गरेका छन । जसका लागी उनले आउदो २३ र २४ गते बैठक नै बोलाएका छन ।
यता अध्यक्ष श्रेष्ठले बुधबार मात्र सुदूरपश्चिम प्रदेश सभामा नाउपाका समानुपातिक प्रदेश सभा सदस्य तथा कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई पद मुक्त गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाउनु भएको छ । गिरीले पार्टीले सोधेको स्पष्टीकरण नदिएकाले पदमुक्त गर्नुपरेको पत्रमा उल्लेख छ । कारबाहीको पत्र संसद् सचिवालयमा दर्ता भइसकेको सूचना अधिकारी युवराज जैसीले जानकारी लिनुभयो ।
अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभामा नाउपा दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहको विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने समय चैत २२ गते नजिकिँदै गर्दा शाह मन्त्रीमण्डलमै रहेका नाउपाका सदस्यलाई अध्यक्ष श्रेष्ठले दबाबमा पार्न खोज्नु भएको छ ।
अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेशमलाल चौधरीले चैत २३ र २४ गते काठमाडौँमा बोलाएको केन्द्रीय समितिको बैठक पनि आधिकारिक नभएको विज्ञप्ति जारी गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले बागमती प्रदेशका पार्टी अध्यक्ष दिपबहादुर योञ्जन तामाङ र गण्डकी अध्यक्ष राजन गुरुङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गर्नुभएको छ ।
संरक्षक रेशमलाल चौधरीलाई भेट्न मङ्गलबार केन्द्रीय कार्यालय पुगेका पार्टीका नेताहरू रामलाल डँगौरा थारु र रमेश विश्वकर्मामाथि हातपात गरेको भन्दै दुई जना प्रदेश अध्यक्षलाई कारबाही गर्नुभएको हो ।
नाउपाका सुदूरपश्चिम प्रदेश सभाका सदस्यले अध्यक्ष श्रेष्ठभन्दा संरक्षक रेशमलाल चौधरीप्रति बढी झुकाव देखाएपछि कारबाहीमा उत्रिनु भएको नाउपा स्रोतको भनाइ छ । चैत १४ गते नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले यो निर्णयलाई अवज्ञा गरेको भन्दै प्रदेश सभा सदस्यप्रति पनि अध्यक्ष श्रेष्ठ निराश हुनुहुन्छ । निर्णय गरेको अर्को दिन त्यसअघि विना विभागीय मन्त्री रहनु भएका लक्ष्मणकिशोर चौधरी र खुशीराम डँगौरा थारुले मन्त्री पदको शपथ लिनु भएको थियो ।
नागरिक उन्मुक्ति पार्टीको २०८० पुसको अन्तिम साता टीकापुरमा भएको महाधिवेशनले रेशमलाल चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व छानेको थियो । तर रेशमलाललाई निर्वाचन आयोगले पार्टीको सदस्य पनि बनाउन नमिल्ने भन्दै संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिएपछि संस्थापक कार्यसमिति नै सक्रिय भएको छ ।
रेशमलालले पार्टीको स्थापना आफ्नो चाहनाअनुसार भएकाले पार्टी पनि मेरो इच्छा अनुसार चल्नुपर्छ भनेपछि संस्थापक अध्यक्ष र संरक्षकबिच विवाद चुलिएको देखिन्छ । रोचक के छ भने चौधरी र श्रेष्ठ सम्बन्धमा पत्ती-पत्नी छन ।
