आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान – Nepalboli

आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान

   २०८० चैत्र २१, बुधबार  

विश्व बैङ्कले चालु आर्थिक वर्षमा नेपालले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । मुलुकको आर्थिक वृद्धिलाई पर्यटन क्षेत्रमा देखिएको पुनरुत्थान र जलविद्युत् निर्यातले मुख्य रूपमा सहयोग पुगेको बैङ्कले जनाएको छ ।

विश्व बैङ्कले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने ‘कन्ट्री डेभलपमेन्ट अपडेट’ ले विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोगसमेत बढ्ने प्रक्षेपण गरेको छ ।

‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र तर न्यून निजी लगानी’ शीर्षक राखिएको उक्त अपडेटले आव २०२५ मा नेपालले थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण चुनौतीयुक्त रहेको पनि बैङ्कले उल्लेख गरेको छ ।

नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रूपमा तयार गरिएको हो । जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकले बेहोर्नु परेका नीतिगत चुनौतीहरूको विश्लेषण गर्छ । ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको साउथ एसिया अपडेटले विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ, जुन् सन् २०२४ मा छ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । प्रतिवेदनले यो दृष्टिकोण (अनुमान) झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ । धेरै मुलुकको वृद्धि अझै पनि महाव्याधिपूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनु परेको अपडेटमा उल्लेख छ ।

यसै समय सबै दक्षिण एसियाली मुलुकहरूमा निजी लगानी वृद्धिमा सुस्तता आएकाले यस क्षेत्रले तीव्र रूपमा बढ्दो काम गर्ने उमेरको जनसङ्ख्याका लागि पर्याप्त जागिरहरू सिर्जना गर्न नसकेको जनाइएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै