डीएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष जेल सजाय – Nepalboli

डीएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष जेल सजाय

   २० चैत्र २०८०, मंगलवार  

नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले केसीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

उनलाई २ वर्ष जेल सजाय र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ । ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख केसीविरुद्ध गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

केसीविरुद्ध बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेको आरोप थियो । २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैंसँग राखेका थिए ।

उनले उक्त सुन फिर्ता गरिदिन सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको थियो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै