कर छली आरोपमा अमेरिकी आईटी कम्पनी विरुद्ध मुद्धा दायर, १०.३६ अर्ब मागदाबी – Nepalboli

कर छली आरोपमा अमेरिकी आईटी कम्पनी विरुद्ध मुद्धा दायर, १०.३६ अर्ब मागदाबी

   २०८० चैत्र १८, आईतवार  

राजस्व अनुसन्धान विभागले १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६ सय ४२ रूपैयाँको माग दाबी गर्दै कोटीभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दर्ता गरेको छ। कम्पनीले सेयर स्वामित्व परिवर्तमा कुनै जानकारी नदिइ कर छली गरेको आरोपमा विभागले मुद्दा दर्ता गरेको हो।

विभागले मुद्दा दर्ता गर्दै अनुसन्धानको क्रममा सेयरधनी दर्ता किताब प्राप्त गरी विश्लेषण गर्दा भेरिस्क इन्फर्मेशन टेक्नोलोजिज् प्रालिको नाममा २०७१ पुस ६ मा सेयरधनी दर्ता किताबमा डिटु हकाई, इंक, २०७१ चैत १३ मा सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक, २०७२ असार ४ मा सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक (सेयर वृद्धि) उल्लेख भएको, भर्सेन्ड टेक्नोलोजिज् प्रालिको नाममा २०७५ जेठ ३० मा सेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएको, कोटीभिटी नेपाल प्रालिको नाममा २०७६ भदौ २६ मा सेयरधनी दर्ता किताबमा कोटीभिटी इंक उल्लेख भएको देखिएको जनाएको छ।

विभागलाई प्राप्त सूचना समेतको आधारमा छानबीन गर्दा प्रस्तुत कम्पनीको विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भएतापनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिइ प्रचलित कर कानून बमोजिम तिर्नु बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको भेटिएको आरोपपत्रमा छ।

कोटीभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै