संवैधानिक परिषद बैठकद्धारा महालेखा परीक्षकमा राया सिफारिस
संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम राया सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको परिषद्को बैठकले रायालाई सिफारिस गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । राया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बहालवाला प्रमुख तथ्याङ्क अधिकारी हुन् ।
गत जेठ ८ गते टङ्कमणि शर्मा सेवा निवृत्त भएपछि यो पद रिक्त रहेको थियो । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले अन्य चार संवैधानिक आयोगको नियुक्तिबारे भने निर्णय लिन सकेन ।
राजनीतिक भागबन्डा नमिलेकाले नियुक्ति सिफारिस हुन नसकेको ती सदस्यले बताए । निर्वाचन आयोग, महिला आयो, मुस्लिम आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एक–एक सदस्य रिक्त छ ।
बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सहभागी थिए ।
शनिवार देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श प्रचण्डले परिषद्को बैठक बोलाएका हुन् ।