नेकपा (एस) द्वारा प्रगति विवरण पठाउन निर्देशन – Nepalboli

नेकपा (एस) द्वारा प्रगति विवरण पठाउन निर्देशन

   २०८० चैत्र १४, बुधबार  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन यही चैत मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ । काठमाडौँ जिल्ला कमिटीले यही चैत १७ गतेसम्म वडा कमिटीका सबै राजनीतिक गतिविधि सम्पन्न गर्ने भएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न कमिटीले महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरेका राजनीतिक कार्यक्रम, सङ्गठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षण लगायत कार्य प्रगतिको विवरण माग गरिएको हो ।

सबै कमिटीले सदस्यता वितरण, नवीकरण गर्ने, नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदन केन्द्रमा पठाएपछि महाधिवेशन प्रतिनिधि छनोटका कार्य गरिनेछ । आगामी वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने जनाइएको छ । महाधिवेशन दस्ताबेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल सम्पन्न गरेको छ । वामपन्थी शक्तिबिचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ ।

समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवेदनमा छलफल सकेपछि ती सबै प्रतिवेदनलाई एउटै दस्ताबेज बनाएर महाधिवेशनमा लैजाने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको सो पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्य जारी राखेको छ ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १३ कमिटी गठन गरिसकेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै