कांग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ पुनः सुरु हुने
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ‘संवाद यात्रा’ पुनः सुरु हुने भएको छ । माघ २३ गते स्थगित भएको संवाद यात्रा महामन्त्री थापाले यहीँ बिहीबार सुरु गर्न लागेका हुन् । हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी उनले माघ १३ गते झापाबाट यात्रा सुरु गरेका थिए । तर कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको माघ २२ गते निधनपछि उनले यात्रा तत्कालका लागि स्थगित गरेका थिए ।
स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए । नवलपरासीको गोपीगञ्जबाट रोकिएको यात्रा त्यहीँबाट पुनः सुरु गर्ने महामन्त्री थापाको भनाइ छ ।
नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गर्ने तयारी रहेको महामन्त्री थापाको सचिवालयले जनाएको छ । संसद बैठक माघ १८ गते भएकाले संवाद यात्रा सो अघि नै सक्ने कार्यतालिका छ ।
कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि बुढाथोकीको निधनका कारण रोकिएको छ । माघ १६ गते सुरु १० दिने अभियानबारे कांग्रेसले केही निर्णय गरेको छैन ।