ठमेल र दरबारमार्गका बजार बैशाख १ गते देखि २४ सैं घण्टा खुुल्ला गर्ने तयारी
पोखरापछि काठमाडौं र ठमेल बजार पनि २४ सैं घण्टा खुलाउने तयारी भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको हो । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं) ले लिने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने कार्य सुरु भएको गृह प्रशासनले जनाएको छ ।
‘ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्ने बताइएको छ ।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।