सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै – Nepalboli

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

   २०८० चैत्र ७, बुधबार  

सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथी छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल जारी रहने र अर्थमन्त्री वर्षमान पुनले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, ११ः३० बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहुनुहुने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने, अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै