नयां गठबन्धन सरकारले आउदो जुन भित्रै बीआरआई बारे चीनसंग अर्को सम्झौता गर्ने गृहकार्यमा – Nepalboli

नयां गठबन्धन सरकारले आउदो जुन भित्रै बीआरआई बारे चीनसंग अर्को सम्झौता गर्ने गृहकार्यमा

   २०८० फाल्गुन २८, सोमबार  

नेपाली कांग्रेससंगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर नयां गठबन्धनको नेतृत्व गरे संगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई अगाडि बढाउने गृहकार्य अगाडी बढाएका छन । तत्कालीन अर्थमन्त्री डा प्रकाशरण महतले अनुदान वा सस्तो ब्याजदर भएमात्रै बीआरआई परियोजना स्वीकार गर्ने अडान लिएपछि चिनियाँ पक्ष रुष्ट हुँदै आएको थियो।

तर अर्थमन्त्रीमा अहिले माओवादीका नेता वर्षमान पुन आएसंगै बीआरआई अगाडि बढाउन प्रधानमन्त्री दाहालका लागि सहज भएको छ। यस काममा पूर्वमुख्यसचिव र पूर्वराजदूतसमेत रहेका लिलामणी पौडेल समेत सहजीकरण गरिरहेका छन ।  यस गृहकार्यमा गत कात्तिकदेखि नै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेताहरूलाई भेटेर दबाब दिँदै आएका छन्।

नेपाल अहिले ऋण लिनेभन्दा पनि अनुदान सहयोगमा केन्द्रित रहेको भन्दै तत्कालीन अर्थमन्त्री महतले चिनियाँ अधिकारीहरूसँगको पटक पकटको भेटमा बीआरआईमा अनुदान सहयोग हुनुपर्ने सर्त राखेका थिए। उनले महँगो ऋणमात्रै थोपर्ने परियोजना नेपालले स्वीकार नगर्ने प्रष्ट पारेपछि चिनियाँ पक्ष थप रुष्ट बनेको थियो।

बीआरआईमा खासगरी महँगो ब्याजसँगै परियोजनामा चिनियाँ मात्रै प्रविधि र कामदार पनि चिनियाँ नै हुनुपर्ने सर्त राखिएको छ। ‘मैले सबै सर्त हटाएर विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) सरहको मात्रै ब्याज हुनुपर्ने भनेको हो,’ पूर्वअर्थमन्त्री महतले भने। कामदार र प्रविधि पनि चीनकै हुने कुरामा थप छलफल र प्रष्टता चाहिने अवस्था रहेको महतले बताए।

महँगो ऋणमा बीआरआई कार्यान्वयन गरे श्रीलंकाको जस्तो अवस्था आउन सक्ने भन्दै अर्थविदहरूले त्यसो नगर्न सरकारलाई पटक पटक सचेत गराउँदै आएका छन्। विगतमै अनुदान दिने भनेका परियोजनासमेत अगाडि नबढेका कारण बीआरआईमा समस्या आएको महतले बताए। ‘नलिने भन्ने होइन तर सस्तो ब्याजदर हुनुपर्छ र अरू नमिल्दा सर्त पनि स्वीकार्न सकिँदैन,’ महतले भने।

चिनियाँ राजदूत सोङले अर्थमन्त्री पुन, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहितसँग भेटगरी बीआरआई कार्यान्वयनको रोडम्याप मागेका छन्। चिनियाँ परियोजना बीआरआई कार्यान्वयनमा नेपाल पक्षले सुस्तता देखाएको भन्दै अब तत्काल अगाडि बढाउन हतारो गरेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार बीआरआई कहाँ अड्किएको हो भन्दै अहिले नयाँ गठबन्धन सरकार आएसँगै फाइलहरू माग्न थालिएको छ।

अर्थमन्त्री पुनले अहिलेकै चिनियाँ सर्त स्वीकार गरेमा नेपाल चिनियाँको महँगो ऋण थपिँदै जानेछ। अहिलेसम्म नेपालको विदेशी ऋण जति छ त्यो सहुलियत ब्याजदर भएकाले पनि दबाब धेरै बढेको छैन। अर्थमन्त्री पुनले आगामी जुन महिनाभित्रै सम्झौता गर्नेगरी परियोजनाको सूची तयार पार्न लगाएका छन्। चिनियाँ पक्षले जुनसम्म सम्झौता गर्न दबाब दिएको छ। जसमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालको समेत एकमत देखिन्छन्।

बीआरआई परियोजना कार्यान्वयनका लागि अन्तिम छलफल गरेर हस्ताक्षर गर्न बाँकी रहेको र नेपालले हस्ताक्षरमा आनाकानी गरेको आरोप चीनले लगाउँदै आएको छ। केही समयअगाडि चीन भ्रमणमा पनि प्रधानमन्त्री दाहालसमक्ष बीआरआईको विषयमा चासो राखिएको थियो। प्रधानमन्त्री दाहाल जलवायु परिवर्तसम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन दुबई जानुअघि पनि चिनियाँ राजदूत सोङले बालुवाटार पुगेरै बीआरआई परियोजना कार्यान्वयनको विषय राखेका थिए।

चिनियाँ पक्षले जति नै दबाब दिएपनि अर्थ मन्त्रालयले चर्को ऋणमा बीआरआई लिन नहुने भन्दै अस्वीकार गर्दै आएको थियो। अब भने वर्षमान पुनले कुन सर्त मानेर स्वीकार गर्ने हुन् कि होइन भन्ने विषय चासोपूर्वक हेरिएको छ।

परियोजना अगाडि नबढे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत बीआरआईअन्तर्गत रहेको भन्दै सार्वजनिक कार्यक्रममा चिनियाँले घोषणा गरेका थिए। जब कि नेपालसँग कुन कुन परियोजना बीआरआईअन्तर्गत गर्ने भन्ने अन्तिम सम्झौता समेत भएको छैन। सोही कारण पनि चिनियाँ पक्ष नेपालसँग रुष्ट छ।

प्रधानमन्त्री दाहाल चीन भ्रमण गएको समयमै बीआरआई परियोजना अगाडि बढाउने विषयमा सहमति गर्न खोजिएको थियो। चिनियाँ राष्ट्रपति सी जिङपिङले समेत नेपालमा बीआरआई परियोजना अगाडि बढ्न नसकेकोबारे प्रधानमन्त्री दाहालसँग चासो राखेका थिए।

नेपालले पनि दाहाल अघिल्लोपटक प्रधानमन्त्री भएको बेला सन् २०१७ मे १२ मा काठमाडौंमा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो। सोहीकारण पनि चीनले अहिले दाहालमाथि दबाब बढाएको हो। चीनले बीआरआईमा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने घोषणा गरिसकेको छ। बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति जिङपिङले उक्त घोषणा गरेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै